मोहन वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति र गृहमन्त्री

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १ : २४


काठमाडौं। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्।

दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत आफ्ना राजनीतिक गुरु किरणलाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल पुगेका हुन्।

उनले नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए। नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए।

सो क्रममा उपराष्ट्रपति पुनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए। उपराष्ट्रपति निस्किएपछि गृहमन्त्री बालकृष्ण खाँण समेत नेता वैद्यलाई भेट्न नर्भिक पुगेका थिए।

सो क्रममा गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश समेत वैद्यलाई सुनाएका थिए। आफू र प्रधानमन्त्रीले समेत वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको र उनको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरूलाई आग्रह गरेका थिए।

आइतबार बिहान नर्भिक भर्ना भएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्