चीनले अन्तरिक्षमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको विषयले अमेरिकी खुफिया एजेन्सी हैरान बनेको छ। फाइनान्सियल टाइम्सका अनुसार परमाणु क्षमताको सो क्षेप्यास्त्र चीनले अन्तरिक्षमा परीक्षण गरेपछि अमेरिकाका अनुसन्धान एजेन्सीहरु तरंगित बनेका छन् र छलफलमा जुटेका छन्।
चीनले यो परीक्षण गत अगस्टमा नै गरेको बताइएको छ। तर यसबारे कसैले जानकारी नै पाएनन्। रिपोर्टका अनुसार हाइपरसोनिक हतियार त्यो पनि अन्तरिक्षमा परीक्षण गर्ने चीनको विकास र प्रविधि देखेर अमेरिका तीनछक्क परेको छ।
चीनबाहेक अमेरिका, रुस र उत्तर कोरियासमेत चार देश हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन्। बालिस्टिक मिसाइल जस्तै हाइपरसोनिक मिसाइल पनि परमाणु हतियारयुक्त हुन्छन् र यो ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र रफ्तारले उड्न सक्छन्।
बालिस्टिक मिसाइलको तुलनामा हाइपरसोनिक मिसाइल तीव्र गतिमा लक्ष्यमा प्रहार गर्न सक्छन्। यति मात्र होइन हाइपरसोनिक मिसाइललाई ट्रयाक गर्न र यसबाट बच्न पनि निकै कठिन हुने बताइन्छ।
अमेरिकाजस्ता केही देशले बालिस्टिक मिसाइल र क्रूज मिसाइलविरुद्ध रक्षात्मक प्रणाली विकसित गरिसकेका छन्। तर हाइपरसोनिक मिसाइललाई ट्रयाक गर्ने र यिनीहरूलाई ध्वस्त पार्ने क्षमताबारे केही भन्न सक्ने अवस्था छैन।
अमेरिकाको कँग्रेसनल रिसर्च सेन्टर सीआरएसका अनुसार चीन आक्रामक रूपमा हाइपरसोनिक प्रविधिको विकास गरिरहेको छ। अमेरिकाको रक्षा मन्त्रालयले यस रिपोर्टबारे कुनै टिप्पणी गरेको छैन।