साफ च्याम्पियन्सिप जित्ने नेपालको सपना चक्नाचुर, भारतसँग ३–० ले हार्‍यो

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १० : ५१


नेपाल साफ च्याम्पियन्सिपको फाइनलमा भारतसँग पराजित भएको छ। शनिबार राति सम्पन्न उपाधि भिडन्तमा नेपाल भारतसँग ३–० ले पराजित हुन पुगेको हो।

नेपाल पहिलो साफ च्याम्पियन्सिप जित्दै इतिहास रच्नबाट चुकेको हो। नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको पहिलोपटक थियो। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई पराजित गर्दै भारतले भने आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल बन्यो।

फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गर्दै खेलमा पकड जमाएको थियो। दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले खेलमा जित हासिल गर्न भने सकेन। अन्त्यमा अर्को गोल थप्दै भारतले आठौं उपाधि पक्का गर्नसक्यो।

खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए। लगत्तै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे। उनले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए।

यस्तै खेलको ९० औं मिनेटमा नेपाल आक्रामक भएको फाइदा उठाउँदै सहाल अब्दुलले सहजै गोल गर्दै भारतको सहज जित गरेका थिए।


प्रतिक्रिया दिनुहोस्