साफले आफ्नै नियम तोड्दै नेपाली प्रशिक्षक अलमुताइरीमाथि लगायो प्रतिबन्ध

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : २४


नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल गुमाउने भएका छन्।

प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो। वास्तवमा साफले आफ्नै नियम तोड्दै आलमुताइरीमाथि प्रतिबन्ध लगाएको साफ नियमावलीले प्रस्ट बनाउँछ।

साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएको खेलाडीलाई मात्र प्रतिबन्ध लाग्ने उल्लेख छ। तर खेलमा रातो कार्ड पाएको अफिसियल छन् भने उनले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ।

तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने लेख्दै पत्राचार गरेको छ, जुन नियममा उल्लेख छैन।

अखिल नेपाल फुटबल संघ एन्फाले यसबारे पत्राचार पनि गरिसकेको छ। एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउन नपाउने जनाएको छ। साफको पत्राचारकै कारण अलमुताइरी शुक्रबार फाइनलअघि भएको पत्रकार सम्मेलनमा अनुपस्थित रहेको बुझिएको छ।

खराब मौसमका कारण भर्चुअल रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अलमुताइरी त्यहीं रहेपनि सहायक प्रशिक्षक किरण श्रेष्ठले जवाफ दिएका थिए।


प्रतिक्रिया दिनुहोस्