प्रधानसेनापति प्रभुराम शर्माको दसैँः जेठो दाजुबाट टीका, शक्ति पीठहरुको दर्शन

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १ : १०


दसैँ पनि ड्युटी नै हो । सप्तमीमा टुँडिखेलमा फूलपाती बढाइँमा इन्गेज भइहालियो। अष्टमीमा साधारण पूजाहरु हुन्छ।

नवमीमा कोत पूजामा सबैभन्दा खटिनुपर्छ । साइतमा हुने मुल पूजा सरिक हुन्छु । शक्ति पीठहरुको दर्शन हुन्छ।

दसैँमा आफ्नो पारिवारिक टीका हुन्छ। बुवाआमा हुनुहुन्न। जेठो दाजुबाट टीका थाप्छु। अन्य मान्यजनसँग पनि लगाउँछु।

एकादशीको दिन संगठनका मातहत युनिटका इच्छुक फौजी र शुभेच्छुकलाई आफ्नो निवासमा टीका दिन्छु।

म काठमाडौंकै स्थायी बासिन्दा भएकाले मेरो दसैँ यतै हुन्छ। अध्ययन र घुमघामको अवस्था छैन।

हामी फौजीलाई अरुजस्तो फुर्सद भएर दसैँ मनाउने भन्ने हुँदैन। ब्यारेकभित्रै मनाउँछौं। राखिएको जमरा ब्यारेक प्रमुखले टीका दिन्छन् । पल्टनमा सबै सैनिक कर्मचारीलाई बडाखाना हुन्छ।

विदा जानेहरु सैनिक कर्मचारीहरुलाई वेलफेयर फ्लाइट र वेयलफेयर सवारी साधनबाट पठाएका छौं।

जमिन साधनबाट करिब १३ सय र जहाजबाट साढे दुई सयभन्दा बढी कर्मचारीलाई दुर्गम दुर्गम ठाउँमा जानेलाई आन्तरिक व्यवस्थापनमा निशुल्क पठाइसकेका छौं । न्यूनतम जनशक्ति ब्यारेकको सुरक्षामा रहन्छन्। बाँकी विदामा जान्छन्।

नेपाली सेनाले धर्म, संस्कृति र परम्परालाई जुनसुकै स्थानमा पनि जगेर्ना र प्रवर्द्धन गर्न योगदान गर्दै आएको छ।

यसका लागि हाम्रो लोकल युनिटले पनि सहयोग पुर्‍याउँछन्। राष्ट्रियस्तरमा भएका समारोहमा पनि योगदान पुर्‍याउँछौं।


प्रतिक्रिया दिनुहोस्