पहिरो गएको तीन महिनापछि सडक खुल्यो

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : १७


बागलुङ। बागलुङको दक्षिण भेग जोड्न बागलुङ–कुश्मीसेरा सडक पहिरोले अवरुद्ध भएको तीन महिनापछि पुनः सञ्चालनमा आएको छ।

बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–१० दब्लाङमा गत असारमा गएको पहिरो हटाएर अस्थायी रुपमा नयाँ ठाउँबाट सडक निर्माण गरेपछि सडक सञ्चालनमा आएको हो। उक्त पहिरोले कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको थियो।

पहिरो नियमित बगिरहने र नयाँ ठाउँबाट सडक विस्तार गर्नसमेत कठिन भएपछि बागलुङ दक्षिण क्षेत्रका नागरिकले सास्ती भोग्दै आएका थिए । जिल्ला सदरमुकाममा अति आवश्यक कामले आउनु परे पर्वत हुँदै आउनुपर्ने बाध्यता थियो।

सडक खुलेसँगै दैमा घर जानेहरुलाई सहज भएको छ । दुई साताअघि सडक खुलाउन सुरु गरिएको थियो।

पटक पटक भएको वर्षाको कारण सडक खुलाउन ढिला भएको मालढुङ्गा–कुश्मीसेरा सडक मर्मत समितिका अध्यक्ष यादव शर्माले जानकारी दिए।

सडक सुचारु गर्न बागलुङ नगरपालिकाले जनश्रमदानसहित २० लाख ९३ हजार रुपैयाँ विनियोजन गरेको थियो। उपभोक्ता समितिमार्फत तत्काललाई एकतर्फी रुपमा सवारी चल्ने गरी सडक खुलाइएको छ।


प्रतिक्रिया दिनुहोस्