खुकुरी उद्योगमा नाति पुस्ताको आकर्षण

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : २०


सिरहा। नाति पुस्ताका ३६ वर्षीय खगेन्द्र लकान्द्री फलामको हतियार बनाउने पुर्ख्यौली पेसालाई व्यवसायीक रुप दिन सफल भएका छन्।

पुर्खौली शिपलाई आधुनिकीकरण र औद्योगिकीकरण गर्दै उनले सिरहाको कर्जन्हा नपा २, बन्दिपुमा मन्दिरा भोजपुरे खुकुरी उद्योग चलाउँदै आइरहेका छन्।

बालिघरे प्रथाअनुसार चल्दै आएको पुर्ख्योली पेसालाई उनले उद्योगको रुपमा सञ्चालन गरेका छन्। एक डोको धान, मकैको भरमा कुनै समय बुवा हजुरबुवाले वर्षभरी विष्टको काम गर्ने चलनको अन्त्य गर्दै उनी व्यसायिकतामा लागेका हुन्। व्यवसायिकताले उनको कमाई र मानसम्मान दुबै बढेको बताउँछन्।

उनको उद्योगमा अहिले दैनिक १० जना कारिगर कार्यरत छन्। उनीहरुले मासिक ४० देखि ६० हजारसम्म कमाउने गरेको छ। उनीहरुलाई खुकुरीको साइज र सजावटअनुसार एउटाको ६ सय देखि ३ हजारसम्म ज्याला दिने गरेको उनले बताए।

भोजपुर, धरान हुँदै व्यवसायकै सिलसिलामा २०५३ मा खगेन्द्रको हजुबुवा प्रभुराम विश्वकर्मा यहाँ आइपुगेका हुन्। हजुरबुवा र बुवा टंकबहादुर विश्वकर्माले सुरु गरेको खुकुरी उद्योग अहिले खगेन्द्रले सम्हालेका छन्।

पहिला–पहिला यही पेसाका कारण सबैले हेप्छ भन्ने लागेर पुर्ख्योली पेसा नगर्ने सोंचमा थिए । स्थानीय फुलकुमारी महतो राष्ट्रिय माध्यमिक विद्यालयमा वाणिज्य शास्त्रमा स्नातक गरेका खगेन्द्रले एकाउन्टेन्टको काम गरे। त्यहाँ उनले न्यून पारिश्रमिकमा ५–६ वर्ष काम पनि गरे।

अहिले यो पेसामा सम्मान र कमाई दुवै भएको खगेन्द्र बताउँछन्। उनले भने, ‘हामीले पुर्ख्यौली पेशालाई व्यसायीकरण गर्दै गयौं, अहिले आम्दानी पनि सन्तोषजनक छ।’ व्यसायिकीकरण गरेपछि यो व्यवसायलाई सम्मानको रुपमा हेरिन थालेको उनको बुझाई छ।

लकान्द्री विश्वकर्माले गर्दै आएको पेसालाई व्यवसायिकीकरण गर्न राज्यले पनि पहल गर्नुपर्ने औंल्याउँछन्। व्यसायिकीकरण नभएसम्म आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन नसकिने उनको बुझाई छ।

खगेन्द्र स्थानीय समाजिक सेवा, राजनीतिमा सक्रिय रहे पनि मुख्य पेसा खुकुरी उद्योग नै बनेको छ। उनी हाल कर्जन्हा नगरपालिका २ नम्बर वडाका निर्वाचित वडा सदस्यसमेत हुन्।

विद्यालयमा कामअनुसारको कमाई नभएर खिन्न खगेन्द्र २०७१ मा हजुरबुवा वित्नुभएपछि बुवालाई सघाउँदै खुकरी उद्योगमा सक्रिय भए । बुवाआमा अमेरिका निवासी कम्प्युटर इन्जिनियर दाई विष्णु लकान्द्रीकोमा २०७३ मा गएपछि भने उद्योग उनकै जिम्मा आएको छ।

‘खुकुरी बनाउन मात्रै समस्या हो। अहिलेसम्म बजारको खासै अभाव भएको छैन,’ लकान्दीले भने, ‘पहिला यहाँ बनाएको खुकुरी सेना, सशस्त्र प्रहरी क्याम्पमा एकैपटक चार–पाँच सय जान्थे। अहिले खुद्रा बजारमै सकिने गरेको छ।’

अत्याधुनिक हतियारको विकास भए पनि खुकुरी, गोर्खाली खुकुरी अझै विश्वभरी प्रख्यात छ। लकान्दीले भने, ‘ठूलठूला युद्ध, विश्व युद्धमा नेपाली खुकुरीले ठूलो चमत्कार गरेको छ। विश्वमा अझै गोर्खाली सेना र खुकुरीलाई वीरताको प्रतिकको रुपमा लिने गरेको छ।’

खगेन्द्रका बुवा टंकबहादुरले खुकुरी व्यवसायको आम्दानीबाटै जेठो छोरो विष्णुलाई कम्प्युटर इन्जिनियर, कान्छो छोरो खगेन्द्रलाई व्यवस्थापनमा स्नात्तक र छोरीलाई स्टाफ नर्स पढाए।

यहाँ बनाएको खुकुरी न्यूनतम १ हजार ५ सयदेखि अधिकतम १५ हजार सम्ममा विक्री हुने गरेको खगेन्द्रले बताए । उनले भने, ‘खुकुरीको साइज, त्यसको बनावट र मेहनतको आधारमा मूल्य निर्धारण हुने गर्छ।’ उनले आफ्नो उद्योगमा १६ सयदेखि १५ हजार मूल्यसम्मको खुकुरीहरु राख्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस्