मुगु दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ३२ पुग्यो

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ८ : ०६


मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ ।

२८ जनाको मुगुमै घटनास्थल तथा उद्धारका क्रममा र ४ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

‘उपचारका लागि १५ जना बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कोहलपुर शिक्षण अस्पताल पठाइएको हो। उपचारका क्रममा चारजनाको मृत्यु भएसँगै मृतकको संख्या ३२ जना पुगेको छ’ उनले भने।

तीन जनाको नेपालगन्ज मेडिकल कलेजमा पुर्‍याएलगत्तै मृत्यु भएको कलेजका सहनिर्देशक डा। रोमान किडवाईले जानकारी दिए। उनकाअनुसार एक जनाको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो।

प्रमुख जिल्ला अधिकारी महतकाअनुसार दुर्घटनामा चालकको पनि मृत्यु भएको छ। अहिले मृतकको शवलाई जिल्ला अस्पतालमा राखेर सनाखत भइरहेको छ। ‘शवहरु अस्पतालमा आफन्त आएर पहिचान गरिरहेका छन्’ उनले भने।

नेपालगन्जबाट सदरमुकाम गमगढी आउँदै गरेको बस मंगलबार अपराह्न पिना झ्यारीखोलामा दुर्घटना भएको थियो।

बसको चालक साइडको पाग्रा पञ्चर भएर अनियन्त्रित भई भीरमा खसेर दुर्घटना भएको महतले बताए। ‘पञ्चर भएपछि बस बल्ड्याङ्ग खाँदै करिब २ सय मिटर तल खसेको थियो’ उनले भने,‘बस स्पिडमा थिएन। टायर पञ्चर भएर अनकन्ट्रोल भई खसेको हो।’

बसमा चालक–सहचालकसहित ४५ जना सवार थिए।


प्रतिक्रिया दिनुहोस्