मुगु दुर्घटनाका घाइते भन्छन्ः बस चार बल्ड्याङ खाँदासम्म होस थियो, त्यसपछि के भयो…

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : ४६


नेपालगञ्ज। ‘बस गुडिरहेको थियो। अगाडि चालक नजिकै बसेको थिए। एक्कासी केही पड्किएको आवाज आयो। त्यसपछि गाडी अनियन्त्रित भएर पल्टियो। चार बल्ड्याङ खाँदासम्म होस थियो। त्यस पछि के भयो थाहा छैन’ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत मुगु दुर्घटनाका घाइते मुगु रोवा घर बताउने हर्कबहादुर शाहको भनाइ हो यो।

कहाली लाग्दो दुर्घटनामा बाँचेर उद्धार भई नेपालगञ्ज अस्पतालको बेडमा पुगेपछि शाहले दुर्घटना हुँदाखेरीको अवस्था बताएका हुन्। उनको भनाइमा चालकले राम्रै चलाएका थिए। ‘दुर्घटनामा ड्राइभरको दोष भएजस्तो लाग्दैन’ उनी सुनाउँछन्।

मंगलबार अपराह्न भएको मुगु दुर्घटनामा घाइते भएकालाई नेपालगञ्ज ल्याइएको छ। तीमध्ये चार जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएका पाँचमध्ये तीन जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिए।

यसैगरी कोहलपुर पुर्‍याइएका थप एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले दिएको जानकारीअनुसार घाइते मध्ये ११ जना कोहलपुर शिक्षण अस्पतालमा र ५ जनालाई नेपालगन्ज शिक्षण अस्पताल पुर्‍याइएको थियो।

यसैबीच हालसम्म मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा दुर्घटना भएको थियो।

सोही घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको मृत्‍यु भएको छ।

बसमा करिब ७० जना यात्रु रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्