साफ च्याम्पियनसिपः बंगलादेशलाई रोक्दै फाइनलमा स्थान बनाउने नेपाली टोलीको रणनीति

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : ०३


काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बंगलादेशविरुद्ध जितका साथ साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्नेमा विश्वस्त रहेको बताएका छन्। नेपालले बुधबार राउन्ड रोबिनको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दैछ।

बंगलादेशविरुद्ध बराबरीले मात्र पनि नेपाल शीर्ष दुईमा रहँदै फाइनल प्रवेश गर्नेछ। ‘सर्वप्रथम नेपालीहरुको महान पर्व बडादसैँको सम्पुर्णमा शुभकामना,’ किरणले भने, ‘बंगलादेशविरुद्धको खेलका लागि हामीले सम्पूर्ण तयारी गरिसकेका छौं। आशा छ टोलीले राम्रो प्रदर्शन गर्दै फाइनलमा स्थान बनाउने छ।’

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल भारतसँग निराश भएको थियो।

नेपाल तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ। समान तीन खेलमा समान ६ अंक जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ। भारत पाँच अंकसहित तेस्रो स्थानमा छ भने बंगलादेश चार अंक बटुल्दै चौथौ स्थानमा छ। अंकविहीन श्रीलंका अन्तिम स्थानमा छ।

‘हामीले टोली रणनीतिअनुसार नै भारतविरुद्ध धेरै रक्षात्मक खेल्यौ। बंगलादेशको खेल हाम्रा लागि महत्वपूर्ण छ र हामी स्पष्ट तीन अंकका लागि खेल्छौ,’ श्रेष्ठले भने, ‘प्रतियोगितामा शीर्ष चार प्रवेश गर्नका लागि सबै टोलीको सम्भावना बाँकी छ। अन्य टोली माल्दिभ्स, भारत र बंगलादेश जित्नै पर्ने दबाबमा भए पनि हामीलाई एक अंकमात्र पनि फाइनल प्रवेशका लागि पर्याप्त बन्नेछ ।’

नेपालसँगको हार वा बराबरीले बंगलादेशको फाइनल प्रवेश गर्ने लक्ष्यमा पूर्णविराम लाग्नेछ।


प्रतिक्रिया दिनुहोस्