सुनिल चम्किदा कोलकाता क्वालिफायरमा, बेंग्लोरको बाहिरियो

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ८ : ००


सुनिल नारायण चम्किएको खेलमा कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।

सोमबार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ४ विकेटको जित हासिल गर्दै कोलकाता क्वालिफायरमा स्थान बनाएको हो। अब, फाइनल प्रबेशका लागि कोलकाताले दिल्लीको सामना गर्नेछ।

बेंगलोरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी रहँदै पूरा गर्न सफल रह्यो। कोलकाताको जितमा सुनिल नारायणले २६ रनको योगदान दिए । यस्तै ओपनर शुभमन गिलले २९ रन जोडे।

बेंगलोरका लागि मोहमद सिराज, हर्षल पटेल र युजभेन्द्र चहलले समान २/२ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन जोडको थियो।

टोलीका लागि कप्तान तथा ओपनर विराट कोहलीले सर्वाधिक ३९ रन जोडे। यस्तै देवदत्त पडिकलले २१, ग्लेन म्याक्स्वेल १५, शहबाज अहमद १३ तथा एबी डे भिलिएर्स ११ रनको योगदान दिए।

कोलकाताका नारायणले २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिँदा लकी फर्गुसनले २ विकेट हात पारे। यसअघि आइतबार भएको पहिलो क्वालिफायर खेलमा दिल्ली चेन्नइसँग पराजित भएको थियो । चेन्नइले फाइनलमा स्थान पक्का गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्