मोतीपुर गोलीकाण्डः गम्भीर घाइते चार प्रहरीलाई काठमाडौं लगियो

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ४ : ३२


बुटवल। रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी गम्भीर घाइते भएका चार प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बसेकाहरूसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका थिए।

झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई गरी चारजनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौं पठाइएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्