तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ११ : ३०


नवरात्रको आज पाँचौ तथा तिथि अनुसार छैटौं दिन। आज देशभरका शक्तिपिठहरूमा नवदुर्गाको छैटौं स्वरुप कात्यायनी देवीको पनि पूजा आराधना गरिँदैछ।

आज बिहान ६ः३० बजेसम्म पञ्चमी तिथि रहेको छ भने त्यसपछी तिथि क्षय रहेको छ। तिथि क्षय भएको अवस्थामा षष्ठी तिथिलाई पनि आजै मानेर पूजाआराधना गर्न सकिने गजेन्द्रमोक्ष संस्कृत परिषद्का सचिव सागर रिजाल (सनातन) बताउँछन्।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

चंन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना।

कात्यायन शुभम् दद्यात् देवी दानव घातिनि।।

कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । कात्यायनी देवीलाई पार्वतीको सौर्य अवतार समेत मानिन्छ।
कात्यायन ऋषिले देवीको कठोर तपस्या गरी देवीलाई आफ्नो पुत्रीको रुपमा प्रप्त गर्ने वरदान पाएका थिए।

त्यसको केही समयपछि महिषासुर नाम गरेको राक्षसले सबै प्रणीलाई दुःख कष्ट दिँदै अत्याचारको पराकाष्ठा तोडपछि महिषासुरको विनासका लागि बह्मा, विष्णु तथा महेश्वरले आ–आफ्नो तेज तथा प्रतापबाट देवीको उत्पन्न गरेका थिए। महर्षी कात्यायनले यही देवीको उपासना गरेकाले देवीको नाम कात्यायनी रहन गएको हो।

आश्विन कृष्ण चतुदर्शीमा जन्मलिएकी देवीको कात्यायन ऋषिले नवमीसम्म उपासना गरेका थिए। ऋषिको आराधनालाई स्वीकार गर्दै दशमीका दिन देवीले राक्षस महिषासुरको वध गरेकी थिइन्। महिषासुरको वध गरेकाले देवीको अर्को नाम महिषासुर मर्दिनी पनि रहन गयो। यो कथा देवीभागवत लगायतका ग्रन्थमासमेत उल्लेख गरिएको छ।

चार हात भएकी देवीको एक हातमा तरवार र अर्को हातमा कमलको फूल रहेको छ भने दुई हात आशीर्वाद मुद्रामा छ । कात्यायनी देवीको पूजाआराधना गर्नाले अर्थ, कर्म, कामका साथै मोक्ष प्रप्त हुने विश्वास गरिन्छ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ। विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ।


प्रतिक्रिया दिनुहोस्