बुटवलमा सुकुम्बासी र प्रहरीबीच झडप हुँदा मृत्यु हुनेको संख्या चार पुग्यो

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ८ : ०२


रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ।

मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल युसिएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन्। उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताए। मृत्यु भएकाहरु सर्वसाधारण हुन्। ्

अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ। प्रहरीले अस्थायीरूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ। झडपमा परी कैयौँ घाइते भएका छन्।

सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए। करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो। विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो।

बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो।

हाल सो क्षेत्रमा कर्फयू जारी गरिएको छ। प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले आज चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताएका छन्।

प्रशासनले पूर्वतर्फ बुटवल–१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।

प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आज दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो। बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइदिँदै आएको थियो तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो।


प्रतिक्रिया दिनुहोस्