बुटवलमा सुकुम्बासी र प्रहरीबीच झडप हुँदा ३ जनाको मृत्‍यु, कर्फ्यू जारी

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : ३४


रुपन्देहीको बुटवलस्थित मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १० घाइते भएका छन्।

आइतबार झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको हो। गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजले जनाएको छ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए। घाइतेमध्ये ३ को मृत्यु भएको हो।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसोबास गर्ने सुकुम्बासीलाई हटाउन खोज्दा प्रहरी र उनीहरुबीच झडप भएको थियो।

हाल सो क्षेत्रमा कर्फयू जारी गरिएको छ। प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले आज चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताएका छन्।

प्रशासनले पूर्वतर्फ बुटवल–१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।

प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आज दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो। बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइदिँदै आएको थियो तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो।


प्रतिक्रिया दिनुहोस्