जग्गा अतिक्रमण विवादः रुपन्देहीको मोतिपुरमा कर्फ्यू जारी

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ६ : ०४


प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले आज चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।

प्रहरीले अस्थायीरूपमा बनाइएका टहरा भत्काउन खोज्दा झडप भएपछि स्थानीयवासीको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ।

प्रशासनले पूर्वतर्फ बुटवल–१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।

प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आज दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो। बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइदिँदै आएको थियो तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो।


प्रतिक्रिया दिनुहोस्