आफ्ना मन्त्रीलाई नेपालको सिधा निर्देशनः मदिरा त्याग्नुस्, अवैध सम्बन्धबारे सुन्न नपरोस्

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ५ : ४७


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई इमानदार भएका देशको सेवा गर्न सुझाव दिएका छन्। उनले इमान्दारिता र कर्तव्यनिष्ठ भएर देश र जनताको हितमा काम गर्न निर्देशन दिएका हुन्।

आइतबार पार्टी केन्द्रीय कार्यालमा नेता नेपालले नेकपा एसबाट हालै मन्त्री बनेकाहरुलाई इमान्दारिता र कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने सुझाव दिनुका साथै गलत कामबाट टाढै रहन निर्देशन दिए।

उनले अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन सचेत गराउँदै कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधार हेर्न सुझाव दिए।

यस्तै उनले मन्त्रीहरुलाई देश र पार्टीको बदनाम हुने काम नगर्न पनि सुझाव दिए।

नेपालले भने,‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ। मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका–बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस्। सिधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस्। अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस्। त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् । यस कुरामा म जोड दिन चाहान्छु।’


प्रतिक्रिया दिनुहोस्