दशैँ आएको अनुभूती दिलाउने गीत ‘दशैँ आयो’ यसरी बनेको थियो…

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ४ : ३८


काठमाडौँ दसैँ आउनै लाग्दा बज्नेमध्येको एक गीत हो ‘दशैँ आयो’। शेखर कोइराला निर्मित नेपाली फिल्म ‘मुगलान’मा समावेश गीतको लोकप्रियता यो पुस्तामा पनि बढ्दो छ।

दशैँ आइसकेपछि यो गीत नसुन्ने र यसमा ननाच्ने कमै होलान्। १८ वर्ष अगाडि तयार भएको यो गीतले क्यासेट हुँदै डिजिटल पुस्तासम्मलाई आफ्नो स्रोता तथा दर्शक बनाइसकेको छ। गीतमा सुरेश अधिकारीको संगीत, लोकनाथ सापकोटाको शब्द र अमुल कार्कीको एरेन्ज छ।

गीतको अडियो जति कर्णप्रिय छ, भिडियो उत्तिकै आकर्षक पनि छ। गीतको अडियोले दसैँको आभास दिलाउँछ भने भिडियोले दसैँको रमझम देखाउँछ। यो गीत तयार गर्दा कथाअनुसार गर्नुपर्ने भएकोले संगीतकार अधिकारीलाई सहज थिएन।

‘निर्देशक शिव रेग्मीले ‘चरी र रि’ भन्ने शब्द ल्याउनु भएको थियो, त्यसमा मैले ‘ररिरई’ थपेँ र त्यसलाई गीतको आकार दियौँ’ अधिकारीले भने।

यो गीतको ऐरेन्ज नेपालमा गरिएको थियो भने रेकर्ड मुम्बईको शान स्टुडियोमा भएको थियो। गीत रेकर्ड गराएपछि मुम्बईमा गायक उदितनारायण झा र गायिका दिपानारायण झाले यो गीतको प्रशंसा गरेका थिए। ‘सुरेशजी गीत त धेरै गाइयो तर हामीलाई आउँदो पुस्तासम्म पुर्‍याउनेमध्येको एक गीत यो हुनेछ’ उदीतले दिएको प्रतिक्रिया अहिले सिद्ध भएको संगीतकार अधिकारी बताउँछन्।

उनी पुग्ने प्रायः ठाउँमा दसैँ अगाडि र पछाडि केहि समय यो गीत सुन्ने गरेका छन् ‘गीतले मलाई जीवन्त राख्नेमा दुइमत छैन’ अधिकारी भन्छन्,‘गीतको शब्द, संगीत, स्वरसँगै तयार भएको भिडियोले यसलाई प्रिय बनाएको छ।’


प्रतिक्रिया दिनुहोस्