अमेरिका जान खोज्ने नेपालीसहित १२६ व्यक्ति ग्वाटेमालाको कन्टेनरमा अलत्रप भेटिए

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ३ : २१


अवैध रुपमा अमेरिका जान खोज्ने नेपालीहरुसहित १२६ व्यक्ति ग्वाटेमालाको कन्टेनरमा अलपत्र परेको भेटिएका छन्। बीबीसीका अनुसार सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको छ।

सो कन्टेनर भित्र नेपालीहरु पनि थियो जो अवैध रुपमा अमेरिका प्रवेश गर्न चाहन्थे। कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ।

उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास छ।

१२६ मध्य १०० भन्दा बढी राजनीतिक सङ्कटमा फसेको हेइटीका नागरिक छन्। नेपालसँगै घानाका नागरिक पनि कन्टेनरमा रहेको बताइएको छ।

उद्धारपश्चात् प्रतिक्रिया जनाउँदै एक जना प्रहरी प्रवक्ताले भने,‘हामीले कन्टेनरबाट कराएको र भित्ता बजारेको आवाज सुन्यौँ। हामीले ढोका खोल्यौँ र आधिकारिक कागजात नभएका १२६ मानिस फेला पार्‍यौ।’

अधिकारीहरूले ती आप्रवासीहरूलाई ग्वाटेमाला माइग्रेशन इन्स्टिच्यूटद्वारा सञ्चालित आश्रय स्थलमा लैजानु भन्दा पहिले प्राथमिक उपचार दिएका थिए।

ग्वाटेमालाको आप्रवासन सम्बन्धी निकायकी प्रवक्ता आलेखान्द्रा मेनाले ती आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिका तर्फ अघि बढेको बताएकी छन्। उनीहरूलाई होन्डुरसको सीमामा पुर्‍याएर त्यहाँका निकायहरूलाई जिम्मा लगाइने जनाइएको छ।

मेक्सिकोका सरकारी निकायहरूले ६५२ जना आप्रवासीहरूलाई नियन्त्रणमा लिएको भोलिपल्ट पछिल्लो घटना भएको हो। यदी त्यो कन्टेनर कसैले पत्ता नलगाएको भए त्यहाँ भित्रका मानिसहरुले भोकभोकै ज्यान गुमाउन सक्थे।

उक्त घटनामा ३५० जना बालबालिका सहितका मानिसहरू चिसो कायम राख्नका लागि रेफ्रिजेरेटर जडान गरिएको ट्रकमा अमेरिकाको दक्षिणी सीमा नजिकै फेला परेका थिए। सेनाको सुरक्षा जाँच स्थलमा आवाजहरू सुनिएपछि उनीहरूले ट्रक खोलेर हेरेका थिए।


प्रतिक्रिया दिनुहोस्