मान्छे पासो लाएर मरेको डोरी करोडौंमा बेचिन्छ भन्दै महिलाको ज्यान लिने ३ जना पक्राउ

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १२ : ५६


काठमाडौं। प्रहरीले एक महिलाको हत्यामा संलग्न ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर, राक्सिराङ गाउँपालिका-५, प्याङचे टोल घर भई हाल ललितपुर बस्ने २३ बर्षीय सविन प्रजा, मोरङ पथरीका २० बर्षे सुमन मगर र मकवानपुरको राक्सिराङ कै १८ बर्षीया प्रविना प्रजा माझी रहेका छन।

उनीहरुलाई गत २५ गते नुवाकोट बेलकोट घर भई हाल ललितपुरको सुनकोठीमा बस्दै आएकी ४५ बर्षीया कमला तामाङको डोरीले घाँटीमा कसी हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनामा संलग्न सबिन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपुर्ण हुने र करोडौं रुपैंयामा बिक्रि हुने भन्ने कुराहरू सुनेकाले सोही अन्धविश्वासमा परी त्यस्तो कार्य गरेको स्वीकारेका छन्।

पैसा कमाउने उद्देश्यले उनीहरुले कमलाको हत्या गरेको बताएका हुन।

घटनामा संलग्न मध्येका एक सुमन मगरसँग ती महिलाको पहिल्यै चिनजान रहेको र अवैध सम्बन्ध हुने गरेको पनि खुलेको छ।

उनीहरुले टहरामा एक्लै बस्दै आएकी कमलालाई त्यहाँ गई खानपिन (मापसे) गरेपछि सुत्ने बेला उनको हात बाँधेर घाँटीमा डोरीले कसी हत्या गरेको र त्यसपछि मृतकको कानमा रहेको गहना र मोबाइल समेत लुटेको प्रहरीले जनाएको छ।

सुमनलाई ललितपुरको हरिसिद्धीबाट यहि असोज २१ गते पक्राउ गरिएको र उनको बयानको आधारमा उक्त घटनामा संलग्न मकवानपुरको रक्सिराङका सबिन र उनकी श्रीमती प्रविनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मकवानपुर,मनहरी गाउँपालिका ७ बाट २२ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न उनीहरुलाई अहिले पक्राउ गरी थप अनुसन्धानको लागी महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाईएको प्रहरीको भनाई छ।

 


प्रतिक्रिया दिनुहोस्