विराटनगर। गृहजिल्ला पुगेका नवनियुक्त रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको भू–भाग बनाउनुपर्ने बताएका छन्।
मन्त्री बनेको भोलिपल्ट शनिबार विराटनगरमा सञ्चारकर्मीसँंगको कुराकानीमा मन्त्री रिजालले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपालको स्वामित्वको भू–भाग रहेको बताउँदै अब पूर्ण रुपमा नेपालको भूभाग बनाउने कार्यमा अघि बढ्ने बताएका हुन्।
यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालमा चुच्चे नक्सा सार्वजनिक भएको थियो। नेपालको नक्सामा पहिलोपटक लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको थियो। त्यसयता भारतले नेपालको विरोध जनाउँदै उक्त भूभाग आफ्नो रहेको बताउँदै आएको छ। त्यसबेला रिजालले प्रतिपक्षमा भएता पनि सरकारको समर्थन गरेका थिए।
यतिबेला पनि उनले सो भूभाग नेपालकै भएको बताएका हुन्। उनले पत्रकारहरुसँग सहमतिको राष्ट्रिय सुरक्षा नीति बनाइने र यसले मुलुकको अखण्डता र सार्वभौमिकताको रक्षा गरिने उल्लेख गरे।