काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीप अन्तर्गत भारतविरुद्ध खेलमा डटेर खेल्ने बताएका छन्।
खेलअघिको पत्रकार सम्मेलनमा उनले भारत बलियो टोली भए पनि आफूहरू गोर्खाली पाराले लड्ने बताएका हुन्।
‘भारत एकदमै बलियो टोली हो, यसको मतलब यो होइन कि हामी उनीहरूसँग खेल्न सक्दैनौं,’ उनले भनेका छन्, ‘हामी लड्नेछौं, भारतीय टोलीलाई सम्मान गर्दै हामी गोर्खाली तरिकाले लड्छौं।’
सो क्रममा उनले आफूहरू अहिले फाइनलको लागि क्वालिफाइ नभइसकेको र अझै दुई खुड्किलो बाँकी रहेको बताउँदै अहिले नै नेपाली दर्शकले सेलिब्रेसन गर्नु गलत भएको पनि बताए।
नेपाल र भारतको खेल भोलि राति पौने १० बजेबाट सुरु हुनेछ। नेपाल दुई खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदा दुवै खेलमा बराबरी खेलेको भारत तालिकाको चौथो स्थानमा छ।