दलहरु चुनाव चिन्ह बोकेर गाउँ-गाउँमा, लोसपा र एमालेको आक्रामक अभियान

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ५ : ४९


बिशाल बस्नेत/न्युज कारखाना

महोत्तरी । चुनाव नजिकिएसँगै महोत्तरीमा चुनावी सरगर्मी बढ्न थालेको छ। राजपाबाट टुक्रिएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपाले महोत्तरीको विभिन्न ठाउँमा प्रचारप्रसारको नै सुरुवात गरेको छ।

अहिले लोसपाले साइकल चिन्ह बोकेर महोत्तरीको विभिन्न पालिकाका टोल-टोलमा पुगिरहेको लोसपाका नेता ज्ञानेन्द्र झाले बताए। ‘चिन्ह पनि नयाँ र पार्टी पनि नयाँ भएको हुनाले जनतालाई जागरुक बनाउन अन्य पाटीले भन्दा हामीले धेरै मेहनत गर्नुपर्ने हुन्छ’, उनले भने।

चुनावी चिन्हको रुपमा साइकललाई पहिचान बनाउन लोसपाले टोल-टोलमा ब्यानर र झण्डा झुण्ड्याएको छ भने लोसपा समर्थित व्यापारीका पसल तथा निजी घरहरुमासमेत साइकल चिन्ह अङ्कित बाक्लै झण्डाहरु देखिन्छ। अन्य पार्टीको तुलनामा मुल पार्टीबाट दुई टुक्रा बनेका पार्टीहरुले अहिले प्रचारप्रसारलाई मुख्य प्राथमिकतामा राखेका छन्।

लोसपाजस्तै नेकपा एमालेबाट फुटेको नेकपा एसको पनि आफ्नै प्रचारप्रसार छ। नेकपा एमालेले देखिनेगरी पाटीका गतिविधि सञ्चालन गरे पनि नेकपा एसले भने गाउँ-गाउँमा पुगेर चुनाव चिन्ह र संगठन विस्तारलाई तीव्र बनाइरहेको छ।

यसै पनि प्रदेश-२ मा लोसपाभन्दा जसपा बलियो र नेकपा एमालेभन्दा नेकपा एस बलियो देखिन्छ।


प्रतिक्रिया दिनुहोस्