‘ओलीले गल्ती स्वीकारे मिलेर अघि बढ्न सकिन्छ’

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ५ : ३५


 

नेकपा एमालेका नेता केपी शर्मा ओलीले गल्ती स्वीकारेको खण्डमा आफूहरु मिलेर अगाडि बढ्न सकिने माधव कुमार नेपालले फेरि दोहोर्याएका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बनेपामा पार्टीले आयोजना गरेको कार्यक्रममा केपी शर्मा ओलीले गल्ती स्वीकारेको अवस्थामा नयाँ ढंगले सोचेर अघि बढ्न सकिने बताएका हुन्।

उनले भनेका छन्,‘ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरे। पार्टीमा गलत तरिका अपनाए। देशलाई राम्ररी हाँक्न सकेनन्। सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो। यी सबै कुराको जिम्मेवारी लिएर गल्ती स्वीकार्न तयार भएमा ओलीसँगको सहकार्यलाई नयाँ ढंगले सोच्न सकिन्छ।’

तर सम्बोधनका क्रममा नेपालले ओली सुध्रिने आशा आफूले नराखेको पनि बताए। नेकपा एस पार्टीले विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा बनेपामा शनिबार शुभकामना आदानप्रदान एवं जिल्ला कार्यालय उद्घाटन कार्यक्रमको आयोजना गरेको थियो।


प्रतिक्रिया दिनुहोस्