बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा चोरी, भक्तजन पनि लुटिए

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ४ : ५९


बैतडी । बैतडीको पाटनमा रहेको प्रसिद्ध उदयदेव मन्दिरमा चोरी भएको छ।

मन्दिरमा राखेको दानपेटिका फोडेर पैसा चोरी भएको प्रहरीले जनाएको छ।

घटस्थापनाको अघिल्लो राति मन्दिरमा चोरी भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

दानपेटिकामा कति रुपैयाँ थियो भन्ने कुरा भने खुलेको छैन। तर एक वर्षदेखि दानपेटिका नखोलेको हुनाले धेरै पैसा हुन सक्ने अनुमान गरिएको छ।

मन्दिरबाट दानपेटिका ल्याएर चोरले मन्दिर गेट नजिकै फोडेको अवस्थामा फेला परेको स्थानीय लवदेव जोशीले बताए।

यस्तै मन्दिरमा नवरात्रका लागि बस्न आएका एकजना भक्तजनको पैसासमेत लुटिएको छ । महेन्द्रनगरबाट मन्दिरको दर्शनका लागि आएका गणेशबहादुर चन्दको १७ हजार रुपैयाँ चोरिएको प्रहरीले जनाएको छ । चन्द मन्दिरमा सुतेको मौका पारेर उनको पैसा लुटिएको हो ।

चोरीमा संलग्नको खोजी भइरहेको प्रहरी निरीक्षक शाहीले बताए । कसले चोरेको हो भन्ने कुरा यकिन नभए पनि २–३ जनामाथि निगरानी राखेर अनुसन्धान भइरहेको छ ।

उदयदेव मन्दिर जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेको छ । उक्त मन्दिरमा महानवमीका दिन रांगाबोकाको बलिसहित भव्य जात्रा लाग्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्