तिब्बतबाट आयात हुन छाडेपछि महङ्गियो खसीबोकाको दाम

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ४ : ४०


ताप्लेजुङ। दशैँ चाडपर्वको समयमा ताप्लेजुङमा खसीबोका महङ्गिएको छ। सदरमुकाम फुङ्लिङ बजारस्थित प्रत्येक हप्ताको शनिबार लाग्ने हाटमा नियमित खरीदरबिक्री हुने मूल्यको तुलनामा दशैँ चाड चित्रिएसँगै खसीबोकाको मूल्य आकासिएको हो।

चाडपर्वका समयमा मासुको खपत साथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने गरेको स्थानीयले बताएका छन्। उपभोक्ताकाअनुसार सामान्य समयमा भन्दा चाडपर्वका बेला खसीबोका निक्कै महङ्गो पर्ने गरेको छ। शनिबारको हाटमा अन्दाजी १५ किलोग्रामको खसीलाई १४ देखि १६ हजार रुपैयाँसम्म मूल्य तिर्नुपरेको उपभोक्ताले बताएका छन्।

चाडपर्वभन्दा अरु समय अर्थात नियमित हाट बजारमा उक्त तौल भएको खसीबोकाको मूल्य ११ देखि बढीमा १३ हजार रुपैयाँसम्म पर्ने उपभोक्ताको भनाइ छ। खसीबोकासँगै बाख्राका पाठापाठीको मूल्य पनि चाडपर्वको समयमा महङ्गिएको उपभोक्ता बताउँछन्। सधैं तीन हजार रुपैयाँ सम्ममा पाउने पाठापाठी शनिबारे हाटमा प्रतिगोता पाँच हजार रुपैयाँसम्म मूल्य तिर्नुपरेको फुङ्लिङ नगरपालिका–४ का रामकुमार लिम्बूले बताए।

ग्रामीण क्षेत्रमा दशैँ तिहारजस्ता चाडपर्वलाई भनेर प्रायः स्थानीयले घरमै खसीबोका पाल्ने गर्दछन् भने शहर बजारका बासिन्दाले हाट तथा कुनै पनि बिक्रेताबाट खरीद गर्नुपर्ने हुँदा महङ्गो मूल्य तिर्नुपर्ने अवस्था छ। चाडको समयमा मासु साथै मार हान्ने र बली पूजा गर्ने संस्कार रहिआएकाले आवश्यक खसीबोका तथा पाठापाठीका लागि बिक्रेताले भनेअनुसार मूल्य तिर्नुपर्ने बाध्यता रहने गरेको लिम्बूले बताए।

यता व्यापार तथा व्यावसायिक सोच योजना राख्ने स्थानीयले पनि चाडपर्वको समयमा राम्रो मूल्य पाउने अपेक्षासहित खसीबोका पाल्ने गरेका छन्। चाडपर्वको मौकामा राम्रो फाइदा लिनेगरी गाउँघरमा पालेका खसीबोका हाट बजारमा ल्याएर बिक्री गर्ने गरेका छन्। फुङ्लिङमा लाग्ने हाटमा जिल्लाको निघुरादिन, फुलबारी र छिमेकी पाँचथरको अमरपुर क्षेत्रका स्थानीय व्यापारीले खसीबोका ल्याएर बिक्री गर्ने गर्दछन्।

चाडपर्वको मौकामा स्थानीय व्यापारीले खसीबोका हाटमा ल्याएर प्रतिकिलोग्राम एक हजारदेखि एघार सय रुपैयाँसम्म लिनेगरी मूल्य राखेर बिक्री गर्ने गरेको पाइएको छ। चाडपर्वका बेला बिक्रेताको योजनाअनुसार तौल हेरी खसीबोकामा प्रतिगोटा पाँचदेखि सात हजार रुपैयाँसम्म नाफा लिन्छन् भने उपभोक्ता वा खरीदकर्ताले सोहीअनुसार महङ्गो मूल्य तिर्ने गर्दछन्।

केहीवर्ष यतादेखि चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुन छोडेकाले पनि यहाँ खसीबोका महङ्गिएको उभोक्ताको भनाइ छ। तीन–चार वर्ष अघिसम्म चाडपर्वका समयमा टिपताला ओलाङ्चुङगोला नाका हुँदै तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुने गर्दथ्यो। त्यसबेला खसीबोका धेरै नै सस्तो हुने गरेको स्थानीयको अनुभव छ। पछिल्लो दुई वर्षयता कोरोना महामारी र महामारी सुरु हुनुभन्दा अघि चिनियाँ मुद्राको मूल्य बढेको भन्दै व्यवसायीले भेडा–च्याङ्ग्रा आयात गर्न छोडेका छन्।


प्रतिक्रिया दिनुहोस्