पोखरालाई हराउँदै चितवनले पहिलोपटक जित्यो ईपीएल क्रिकेटको उपाधि

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ४ : ०२


काठमाडौं। चितवन टाईगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग ईपीएल २०२१ को उपाधि जितेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा शनिवार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलो पटक च्याम्पियन बनेको हो।

पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो। चितवनका लागि भिम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए।

यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहाजादले ११ रन जोडे । कप्तान सोमपाल कामीले आफ्नो पहिलो बलमै चौका प्रहार गर्दै चितवनलाई जित दिलाए।

बलिङमा पोखराका किशोर महतोले ४ विकेट लिए। नन्दन यादवले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएको थियो।

पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए। रिचर्ड लेभीले २६ र कप्तान विनोद भण्डारीले २२ रन बनाए । विपिन रावलले १७ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

चितवनका लागि बलिङमा कमल सिंह ऐरीले ३।५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए। यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २–२ विकेट लिए। दुवैले ३ ओभर बलिङ गर्दा प्रसन्नले १३ र करिमले १५ रन खर्चे।

कप्तान सोमपाल कामी र सागर ढकालले समान १ विकेट लिए।


प्रतिक्रिया दिनुहोस्