भारतबाट दशैँ मनाउन घर फर्किँदा पैसा हरायो, भेट्नेले दिएपछि यसो भन्छन् धर्मे सार्की…

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ३३


जाजरकोटमा बाटोमा भेटिएको एक लाख रुपैयाँ सम्बन्धित धनीलाई बुझाइयो

जाजरकोट जिल्लाका दुई युवाले बाटोमा भेट्टाएको एक लाख रुपैयाँ प्रहरीमार्फत सम्बन्धित ब्यक्तिलाई बुझाएका छन्।

जिल्लाको कुशे गाउँपालिका–२ स्थायी घर भइ प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई जाजरकोटमा जेटिए पदमा कार्यरत सुवास सिंह र भेरी नगरपालिका ४ घर भई सोही कार्यालयमा जेटिए पदमा कार्यरत २३ बर्षीय धर्म चन्दले भेरी नगरपालिका ४ गैरीखालीस्थित सडकमा शनिबार बिहानै एक लाख रुपैयाँ फेला पारेका थिए।

‘घुम्न निस्केका थियौं। बीच सडकमा प्लाष्टिकको झोलामा बेरेको सानो पोेको भेट्यौ। के रहेछ भनेर खोलेर हेर्दा एक लाखको गड्डी रहेछ। हामीले तत्काल प्रहरीलाई बुझाईदियौ,’ चन्दले भने।

रकम हराएको करिब १८ घण्टापछि सम्पर्कमा आएका कुशे गाँउपालिका ९ मेलविसाउना निवासी ४५ वर्षीय धर्मे सार्कीलाई उक्त रकम हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बताए।

उनकाअनुसार रकम हराउने धर्मे कमाइका लागि केही समयअघि भारत गएका थिए। भारतबाट दशैँ मनाउन घर फर्केने क्रममा नेपालगञ्जमा भारतीय रुपैयाँ सटाएर शनिबार मात्र जाजरकोट सदरमुका आइपुगेका थिए। मदिरा सेवन गरेका कारण उनले रकम हराएका थिए।

मदिराको नशाले छोडेपछि शनिवार विहानमात्र रकम हराएको थाह पाएका उनले सोधीखोजी गर्दा प्रहरीको सम्पर्कमा आएको र उनको बयानका आधारमा रकम उनकै भएको यकिन गरेर रकम फेला पार्ने ब्यक्तिको रोहवरमा हराएको एक लाख रुपैयाँ हस्तान्तरण गरिएको प्रहरी प्रमुख थापाले बताए।

रकम पाएपछि धर्मेले भने, ‘दिनरात अर्काको देशमा पसिना बगाएर कमाएको रकम हराए पनि फेला पर्‍यो। सत्यको धन रहेछ। कोही नहुनेको दैव हुन्छ भनेको साँच्चै रहेछ। अब यस्तो गल्ती कहिल्यै गर्दिन।’

रकम फेला पारेर इमान्दारपूर्वक प्रहरीलाई बुझाउने दुवै युवालाई प्रहरी प्रमुख थापाले धन्यवाद ज्ञापन गरे।


प्रतिक्रिया दिनुहोस्