टाटाले १८ हजार करोड भारूमा खरिद गर्यो एअर इन्डिया

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ३९


भारतीय टाटा ग्रुपले एअर इन्डिया कम्पनी १८ हजार करोड भारुमा खरिद गरेको छ। यससँगै झन्डै ७० वर्षपछि एअर इन्डिया टाटाकै स्वामित्वमा आएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

यसअघि जेआरडी टाटाले सन् १९३२ यो एअरलाइन्स स्थापना गरेका थिए। भारत सरकारले सन् १९५३ मा एअर इन्डियालाई राष्ट्रियकरण गरेर सरकारी स्वामित्वमा लिएको थियो।

त्यति बेला यसको नाम टाटा एयरलाइन्स थियो। राष्ट्रियकरण गरिए पनि सन् १९७७ सम्म जेआरडी नै कम्पनीका अध्यक्ष थिए।

पछिल्लो समय अत्यधिक ऋणमा डुबेपछि सरकारले एअर इन्डियालाई निजी क्षेत्रको जिम्मा लगाउने निर्णय गरेको हो। यसका लागि प्रक्रिया सुरू गरिए पनि कोरोना महामारीका कारण ढिलाइ भएको थियो।

मूल्य बढाबढ गर्दा टाटा सन्सले १८ हजार करोड भारूमा कम्पनीको जिम्मेवारी सम्हाल्ने कबोल गरेको थियो। टाटा सन्सले पाँच वर्षपछि एअर इन्डियाको ब्रान्ड आफ्नो नाममा राख्न सक्नेछन्। कम्पनीको वित्त विभागले यो वर्ष कुनै कर्मचारी नहटाउने बताएको छ।


प्रतिक्रिया दिनुहोस्