नाक्चेलाग्ना सीमा नाका चीनले मिचेको छैनः अध्ययन टोलीको प्रतिवेदन

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ५३


मुगु। नेपालको सीमा छिमेकी देश भारत र चीनले धमाधम मिचिरहेको अवस्थामा मुगु जिल्ला र उत्तरी नाका चीनसँग जोडिएको नाक्चेलाग्ना सिमाना नमिचिएको एक अध्ययन टोलीले प्रतिवेदनमार्फत जानकारी दिएको छ।

टोलीले नेपाल र चीनमा रहेको १३ नम्बरको सीमा पिल्लर रहेको नाक्चेलाग्ना सीमा स्तम्भ नमिचिएको बताएको हो। यो स्तम्भ समुद्री सतहदेखि चार हजार ९८६ मिटरको उचायमा अवस्थित छ।

सदरमुकाम गमगढी बजारदेखि सीमा नाका सम्म ९२ किलोमिटर छ। पैदल यात्रा गरेर चार दिन लाग्ने यस सीमा नाकासम्म पुगेर अध्ययन गर्दा कुनै पनि सीमा नमिचिएको अध्ययन टोलीको निष्कर्ष छ।

गत ३० भदौदेखि ५ असोजसम्म सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाको नेतृत्वमा गएको टोली र नेपाल सशस्त्र प्रहरीले अध्ययन गर्दा र विगतमा गरिएको अध्ययन टोलीको प्रतिवेदनअनुसार नेपाल र चीनसँग जोडिएको नाक्चेलाग्ना स्थानमा रहेको १३ नम्बर पिल्लर र अन्य भूमि नमिचिएको अध्ययन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।


प्रतिक्रिया दिनुहोस्