ए डिभिजन फुटसल लिगको उपाधि क्यासललाई, पायो १० लाख पुरस्कार

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ००


पोखराl ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उपाधि घरेलु टोली स्पोर्ट्स क्यासलले जितेको छ। शुक्रबार पोखरा रंगशालास्थित कभर्ड हलमा भएको प्रतिस्पर्धामा क्यासलले शंखमूल फुटसललाई ४–२ गोल अन्तरले पराजित गरी उपाधि जितेको हो।

प्रतिस्पर्धात्मक खेलमा किशोर गुरुङको ह्याट्रिकमा क्यासलले जीत सुनिश्चित गरेको हो। अर्को एक गोल विजय गुरुङले थपे। शंखमूलका लक्ष्मण थापा र मणि लामाले १–१ गोल गरेका थिए।

उपाधि जितेसँगै क्यासलका टिम कोच विष्णु गुरुङले टिमको मिहिनेतबाट विजेता भएको बताए।

‘टिम र आफूलाई विश्वास गरेको थिएँ। मैले जे सिकेँ, त्यो लगाएँ। त्यसले कम्प्लिट रिजल्ट दिएको छ’, उनले भने, ‘म खुसी छु। यसले धेरै कुरा सिकाएको छ।’

उपाधिसँगै क्यासलले नगद १० लाख रुपैयाँ जितेको छ भने उपविजेता शंखमूलले पाँच लाख रुपैयाँ पाएको छ । प्रतियोगितामा सातै प्रदेशका १० वटा टिम सहभागी थिए। यही प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गर्ने तयारी छ।

राष्ट्रिय टिम केही समयपछि घोषणा गर्ने एन्फाका फुटसल विभाग प्रमुख विनोद गुरुङले जानकारी दिए। नेपालमै पहिलो पटक ए डिभिजन लिग फुटसल पोखराबाट सुरु भएको हो।

प्रतियोगिताअन्तर्गत उत्कृष्ट आलामा शंखमूलका मणि लामा घोषित भएका छन् भने फिक्सोमा फुटसल ५ धरानका विजय श्रेष्ठ, उदयीमान खेलाडीमा क्यासलका सुमित श्रेष्ठ तथा उत्कृष्ट प्रशिक्षकसमेत क्यासलकै विष्णु गुरुङ घोषित भएका छन्। उनीहरू सबैलाई जनही २५ हजार रुपैयाँ नगदले पुरस्कृत गरिएको छ।


प्रतिक्रिया दिनुहोस्