अफगानिस्तानको मस्जिदमा बम आक्रमण, कम्तिमा ५० जनाको मृत्यु

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ५ : ४८


अफगानिस्तानको एक मस्जिदमा शुक्रबार ठूलो विस्फोटन हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ। एनडीटीभीका अनुसार आज कुन्दुज शहरको सिया धर्मावलम्बीको मस्जिदमा विस्फोटन भएको हो।

गत अगष्टमा तालिबानले अफगानिस्तान कब्जामा लिएयता आईएस–के समूहले तालिबानविरुद्ध हिंस्रक गतिविधि मच्चाउँदै आएका छन्। यो आक्रमण कसले गरेको भनेर पत्ता लाग्न सकेको छैन। आक्रमणको जिम्मा पनि कुनै समूहले लिएका छैनन्।

एमएसएफ अस्पतालका अनुसार हालसम्म यो घटनाका ९० घाइतेले उपचार पाइरहेका छन्। अस्पतालमा उपचारकै क्रममा १५ को ज्यान गइसकेको छ।

तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले कुन्दुजको मस्जिदमा बम विस्फोटन भएको बताए पनि कतिको मृत्यु भएको केही जानकारी दिएका छैनन्। यो विस्फोटन आत्मघाती बम आक्रमण भएको बीबीसीले जनाएको छ।

यो आक्रमणमा आईएस–के समूह नै संलग्न भएको आशंका गरिएको छ। शुक्रबारको समय मुस्लिमहरु धेरैको संख्यामा प्रार्थनाको लागि आएको बेला यो नियोजित आक्रमण भएको बताइएको छ।

एक स्थानीय व्यापारी जालमाई अलोकजाईले यो विस्फोटनमा ४० जना मारिएको एएफपीसँग बताएका छन्। उनले लाशहरु आफैंले गनेको बताएका छन्।

आईएस–के को कारवाही
सेप्टेम्बरयता अफगानिस्तानमा इस्लामिक स्टेट आइएसको शाखा आईएस–केले तालिबानविरुद्ध कारवाही सुरु गरेको देखिएको छ।

आईएस–के समूहले तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि आफूहरुले तालिबानलाई निशाना बनाएर कारवाही गर्न थालेको औपचारिक जानकारी नै दिएको थियो।

आईएसले तालिबानलाई ‘धर्म भ्रष्ट लडाकु’ भनेको छ।

Inside ISIS-K: the 'sworn enemy' of Taliban who shoot newborns and raise execution 'cubs' - World News - swiftheadline

यसरी आइएसले आक्रमण गर्न थालेपछि अव्यवस्थित तालिबान सरकारलाई थप चुनौती थपिएको छ। यसअघि १५ अगष्टमा जब तालिबानले राजधानी काबुल कब्जा गरेका थिए तब आईएसले अमेरिकाले अफगानिस्तान छाडेका कारण मात्र तालिबानको सत्ता फर्किएको बताएको थियो। तालिबानले लडाइले अमेरिकालाई हराएको भन्ने भनाइमा आईएस विश्वस्त छैन।

आईएस र तालिबान कसरी फरक?
‘तालिबान अफगानिस्तानको सबैभन्दा महत्त्वपूर्ण खेलाडी हो। आईएस आफ्नो सञ्जाल पुनः निर्माण गर्न प्रयासरत अन्तर्राष्ट्रिय जिहादी समूह हो। तर यो अलकायदा र तालिबान दुवैको घातक दुस्मन हो’ न्युयोर्कस्थित सोपान सेन्टरका सुरक्षा विश्लेषक कोलिन क्लर्क भन्छन्।

तालिबान सन् १९८० को अन्त्यतिर अफगानिस्तानमा सोभियत सङ्घको आक्रमणविरुद्ध प्रतिकार र सन् १९९० को सुरुतिर अफगानिस्तानमा देखिएको आन्तरिक द्वन्द्वसँगै उदय भएको हो।

आईएस त्यसको वर्षौँपछि सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरेपछि अलकायदाको स्थानीय शाखाको अवशेषहरूबाट विस्तार भएर बनेको समूह हो।

सन् २००७ मा इराकमा अमेरिकी फौज थपिएपछि निकै वर्षसम्म हराएको यो समूह सन् २०११ पछि फेरि देखिन थाल्यो।

तालिबानको चासो अफगानिस्तानमा मात्रै सीमित रहे पनि आईएसको विश्वव्यापी आकाङ्क्षा छ।

वासिङ्टनस्थित जर्जटाउन विश्वविद्यालयका मध्यएसिया आतङ्कवाद विज्ञ ड्यानियल बाइमन तालिबान विगतको आदर्श मुस्लिम देशमा अफगानिस्तानलाई फर्काउन चाहने बताउँछन्। आईएसको चाहना विश्व नै मुस्लिम राज्य बनाउने रहेको छ।


प्रतिक्रिया दिनुहोस्