नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेस्सा र डिमिट्री मुराटोभलाई

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : १६


काठमाडौं। यसवर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले संयुक्त रुपमा पाएका छन्। फिलिपिन्सका पत्रकार मारिया रेस्सा र रसियाका डिमिट्री मुराटोभलाई पुरस्कार प्रदान गरिएको हो।

नर्वेजियन नोबेल कमिटीले रेस्सा र मुराटोभलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। उनीहरूले अभिव्यक्ति स्वतन्त्रता रक्षाको लागि गरेको प्रयासलाई सम्मानस्वरुप पुरस्कृत गरेको नोबेल कमिटीले जनाएको छ।

प्रतिकुल अवस्थामा पनि आफ्नो समाचारमार्फत सम्पूर्ण पत्रकारको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उनीहरू लड्दै आएका थिए।

फिलिपिन्सकी रेस्साले पत्रकारितामार्फत सरकारको शक्ति दुरुपयोग, हिंसा र अधिनायकवादविरुद्ध अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने गरेकी छिन्। उनी फिलिपिनी न्युज साइट र्यापलरकी सिइओ हुन् भने मुराटोभ रसियन समाचार पत्र नोभय गाजेटाका प्रमुख हुन्।

शान्ति पुरस्कारसँगै यसवर्षको लागि रसायनशास्त्र, भौतिकशास्त्र, चिकित्सा र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने अर्थशास्त्रतर्फको पुरस्कार घोषणा बाँकी छ। नोबेल शान्ति पुरस्कार ६ विधामा दिइँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्