काँग्रेसबाट पाँच नयाँ मन्त्री थपिँदै, सांसद नरहेका गजेन्द्र हमाल पनि मन्त्री बन्ने

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ३ : ४०


नेपाली काँग्रेसबाट आज पाँच नयाँ मन्त्री थपिने भएका छन्। जसमध्ये सांसद नै नरहेका गजेन्द्र हमाल पनि मन्त्री बन्ने भएका छन्।

नेपालगञ्जका काँग्रेस नेता गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले वाणिज्य तथा आपूर्तिमन्त्री बनाउन लागेका हुन्। उनी सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान हुन्।

संविधानको व्यवस्थाअनुसार सांसद नरहेको व्यक्ति छ महिनासम्म मन्त्री हुन पाउँछ। जसअनुसार काँग्रेसबाट उनले पनि मन्त्री हुने मौका पाएका हुन्।

प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई समेटेर पाँच मन्त्रीको टुंगो लगाएका हुन्।

कांग्रेसका एक नेताका अनुार पौडेल पक्षबाट मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु मन्त्री बन्ने तयारीमा छन्। देउवाले पौडेल पक्षलाई रक्षा र कानुन मन्त्रालय दिने तयारी गरेका छन्। देउवाले अहिले कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाउने तयारी गरेको ती नेताले जानकारी दिए।

कांग्रेसको भागमा परेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी र पुष्पा भुषालमध्ये एक जनालाई पठाउने तयारी छ।

दुवै जना सभापति देउवानिकट हुन् । पूर्वमहामन्त्री सिटौला पक्षबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी छ। चौधरीलाइए युवा तथा खेलकूद मन्त्री बनाउने तयारीमा देउवा छन्। देउवाले झण्डै तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन्।


प्रतिक्रिया दिनुहोस्