चीनलाई प्रमुख खतरा मान्दै सीआईएले खडा गर्‍यो चीन केन्द्रित एकाई

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ३ : ०२


अमेरिकी गुप्तचर निकाय सीआईएले आफ्नो प्रमुख प्रतिद्वन्द्वी चीनमा ध्यान केन्द्रित गर्न नयाँ एकाई गठन गरेको छ। चीनलाई आफ्नो प्रमुख भूराजनीतिक खतरा मान्दै सीआईएले बिहीबार नयाँ एकाईको रुपमा चाइना मिसन सेन्टर गठन गरेको हो।

चीनले पछिल्लो समय विश्वभर प्रभाव जमाउने प्रयास गरिरहेको छ। विश्वमा चिनियाँ व्यापार र लगानी बढाउन चीनले बीआरआई योजना अगाडि सारेको छ। जसमा ५० भन्दा बढी मूलुक आवद्ध भइसकेका छन्।

त्यतिमात्र नभएर हालै अमेरिकी सेनाले छाडेको अफगानिस्तानका तालिबानसँग चीनको राम्रो सम्बन्ध छ। समग्रमा अमेरिकाका विरोधीहरुको चीनसँग सुमधुर सम्बन्ध छ।

यस्तै हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभुत्व बढ्दै गएको छ। विवादित दक्षिण चीन सागरको ९० प्रतिशत जलमा आफ्नो अधिकार भएको चीन बताउँछ। यसबीचमा चीनको प्रभावलाई मध्यनजर गर्दै र चीनलाई आफ्नो प्रमुख भूराजनीतिक खतरा मान्दै सीआईएले चिनियाँ गतिविधि निगरानी गर्नकै लागि नयाँ समूह गठन गरेको हो।

सीआईएका निर्देशक विलियम बर्न्सले चाइना मिसन सेन्टर एकाईबारे भनेका छन्,‘२१ औं शताब्दीमा हामीले सामना गर्ने सबैभन्दा महत्त्वपूर्ण भूराजनीतिक खतरा चीनविरुद्धको सामूहिक कामलाई अझ सुदृढ पार्न यो एकाईले मद्दत गर्नेछ।’

सीआईएको यस एकाईले चीनलाई अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी मानेको छ। सीआईएले चाइना मिसन सेन्टर खडा गर्नुको उद्देश्यबारे भनेको छ,‘चीनद्वारा प्रस्तुत वैश्विक चुनौतीलाई सम्बोधन गर्न यो एकाईले सहयोग गर्नेछ। यो एकाईले विश्वभरका सबैक्षेत्र ओगट्छ।’ यसको अर्थ चीनले जहाँ–जहाँ प्रभुत्व जमाउँछ यो एकाई त्यहाँ काउन्टर दिन पुग्नेछ।

सीआईएको मिसन चिनियाँ सरकारको आक्रामक गतिविधि नियाल्ने मात्र भएको र यो चिनियाँ नागरिकविरुद्ध नभएको पनि स्पष्ट पारिएको छ। बिजनेस इन्साइडर


प्रतिक्रिया दिनुहोस्