मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री, तर राष्ट्रपतिलाई अहिलेसम्म छैन जानकारी

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १ : ०५


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । तर, यसबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी भने गराएका छैनन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रपतिले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ । तर, मन्त्रिपरिषद् विस्तारबारे राष्ट्रपतिलाई जानकारी गराइएको छैन ।

‘अहिलेसम्म मन्त्रिपरिषद् विस्तारबारे जानकारी आएको छैन’, राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए । प्रधानमन्त्री देउवाले आजै राष्ट्रपतिलाई भेटेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे जानकारी नपुगेकाले राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथको तयारीसमेत गरेको छैन । ‘मन्त्रिपरिषद् विस्तारबारे जानकारी आएको छैन’, उनले भने, ‘यस कारण अहिलेसम्म शपथको कुनै तयारी गरिएको छैन ।’

यद्यपि, उनले शुक्रबार अपरान्ह ३/४ बजेसम्म जानकारी आउन सक्ने पनि बताए । शपथसम्बन्धी जारी गरेको अध्यादेश निस्क्रिय भएसँगै अब परम्परागत रूपमा मन्त्रीहरूको शपथ गराउने स्वकीय सचिव अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्