नेपालले सीमा नाका खुलाएपनि भारतीय पक्षबाट अवरोध कायमै

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ११ : १७


जनकपुरधाम । कोरोना महामारी कारण डेढ वर्षदेखि बन्द रहेका सीमानाकाहरू खोल्ने सरकारले निर्णय गरे पनि प्रदेश २ का जिल्लाका मुख्य नाकाहरू अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन्।

पर्सा र रौतहटमा केही नाकाबाट भारतीय गाडीहरू आउने र जाने गरेपनि सिरहा, सप्तरी, महोत्तरी, धनुषालगायतका जिल्लाको नाकाबाट भारतीय गाडीसमेत आवत–जावत गरेको देखिदैन। धनुषाका जटही, महोत्तरीको भिट्ठामोडमा नाकाहरूको भारतीय एसएसबीले नेपालीलाई मोटरसाइकल चढेर पनि भारतीय बजार जान दिएको छैन।

माथिबाटै सवारी साधन आवत–जावत गर्न नदिने निर्देशन आएको जटही नाकामा खटेका एक भारतीय एसएसबीले बताए । उनले भने, ‘नेपाल सरकारले बोर्डर खोलेको छ । तर हामीलाई हाम्रो पक्षबाट नाका खुल्ला गर्न अहिलेसम्म निर्देशन आएको छैन । विहारमा ग्रामपंचायतको निर्वाचन भइरहेकोले पनि सीमामा कडाई गर्न निर्देशन आएको छ।’

धनुषा प्रशासनले भारतीय नागरिकले स्वास्थ्य मापदण्ड अपनाएर आउन सक्ने बताएको छ । तर मापदण्ड पालना गरेर आउनेको संख्या न्यून छ । धनुषाको मुख्य नाका हो जटही । तर अहिले सुनसान छ। न नेपाली सवारीहरू भारत जाने गरेको देखिन्छ, न भारतीय सवारीहरू नेपाल आउँदै गरेको।

सीमाको अवस्था हेर्दा नेपाल र भारतबीच समन्वयको अभाव देखिन्छ । सिरहाको नाकाहरू पनि पूर्णरुपमा सञ्चालनमा आएको छैन । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले भने, ‘हाम्रो तर्फबाट सीमा नाका खुल्ला छ । तर भारततर्फबाट अवरोध भइरहेको छ । उहाँहरूले कुन कारणले अवरोध गरिरहेको रु यो विषयमा पराराष्ट्र मन्त्रालयले पहल गनुपर्छ ।’

नाकाबाट यात्रुबाहक सवारीहरू आवत–जावत नहुँदा सर्वसधारण समस्यामा परेका छन् । दशैंका बेला एउटा नाकाबाट मात्रै दैनिक हजारौं नेपाली मजदुर फर्किन्छन् । तर गाडी नचल्दा पैदल यात्रा गर्न बाध्य छन् । सवारी नचल्दा व्यवसायीसमेत मर्कामा परेका छन् ।


प्रतिक्रिया दिनुहोस्