दक्षिण कोरियाको सेनामा सहकर्मीमाथिको यौन दुर्व्यवहार बढ्दो

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ११


सियोल । दक्षिण कोरियाको वायुसेनाकी एक अधिकृतलाई आत्महत्या गर्न उनकै सहकर्मीले दुरत्साहन गरेको खुलासा भएको छ । सहकर्मीले बलात्कार गरेपछि उनले आत्महत्या गरेको खुलासा भएको हो । आत्महत्या दुरुत्साहनको अभियोगमा वायु सेनाका १५ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

त्यस्तै सो घटना ढाकछोप गर्न खोज्ने अरू दर्जनौं अधिकारीहरुलाई अनुशासनको कारबाही हुने भएको छ । उनको आत्महत्यालाई लिएर दक्षिण कोरियाली वायुसेनाको चर्को आलोचना भएको थियो । आलोचनापछि वायु सेनाका प्रमुखले राजीनामा दिएका थिए ।

दक्षिण कोरियाको सेनामा सहकर्मीमाथिको यौन दुर्व्यवहार बढ्दो छ । अर्को एक छुट्टै घटनामा दक्षिण कोरियाको स्थल सेनाका एक अधिकारीले समलिंगी महिला सिपाहीलाई जागिर छोड्न वाध्य पारेको एउटा अदालतले फैसला गरेको छ । जागिर छोडेको केही दिनपछि उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।

दक्षिण कोरियाका पहिलो समलिंगी सिपाही बायन ही सोको मृत्युको आधिकारिक कारण भने सार्वजनिक हुँन बाँकी नै छ ।

महिला सुरक्षाकर्मीमाथि हुने गरेका दुर्व्यवहारका घटनामा दक्षिण कोरियाको सेनाका उच्च अधिकारीहरू बारम्बार तानिने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्