ए डिभिजन फुटसलको उपाधिका लागि क्यासल र शंखमूल भिड्ने

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : २८


पोखरा काठमाडौंको शंखमूल फुटसल क्लब पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश गरको छ।

पोखरा रंगशालामा जारी प्रतियोगिताअन्तर्गत बिहीबार द राइजिङ क्लब धरानलाई ४–३ गोल अन्तरले हराउँदै शंखमूल फाइनल प्रवेश गरेको हो।

यसअघि घरेलु टोली स्पोर्ट्स क्यासल बुधबार नै फाइनल प्रवेश गरिसकेको छ। शंखमूलको जीतमा मणि लामा नायक बने। उनी एक्लैले ४ गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याएका हुन्। शंखमूलले यसअघि एलिमेटरमा घरेलु टोली सविन मेमोरियललाई हराउँदै क्वालिफाइड भएको थियो।

शंखमूल र क्यासल दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि लिग चरणमा क्यासल र शंखमूलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। क्यासलले पनि क्वालिफाई खेलमा राइजिङ क्लबलाई नै पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो।

प्रतियोगितामा १० वटा टिम सहभागी थिए। लिग विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ। उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

जारी प्रतियोगिताबाट एएफसी च्याम्पिएनसिपका लागि राष्ट्रिय टोली छनोट हुनेछ।


प्रतिक्रिया दिनुहोस्