ईपीएल उपाधिका लागि चितवन र पोखरा भिड्ने

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ४ : ३३


काठमाडौंl पोखरा राइनोज चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो।

अब पोखराले फाइनलमा चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ। भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो। भैरहवाका लागि कप्तान शरद भेषवाकरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए।

आरिफ शेख २७, रोहित पौडेल १८, प्रदिप ऐरी ११, उपुल थरंगा १०, धम्मिका प्रसाद ४, सर्भिन मुनिएण्डी ३ र कुशल मल्ल १ रन बनाए।

पोखराका किशोर महतो र सहन अराछिगेले समान २/२ विकेट हात पार्दा नन्दन यादव र असेला गुनारत्ने १/१ विकेट लिए। प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउनेछन्।


प्रतिक्रिया दिनुहोस्