कुमार पौडेल इन्काउन्टर प्रकरणः पूर्वगृहमन्त्री र पूर्वआइजीपीविरुद्ध जाहेरी दर्ता

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ४८


जनकपुर/ कुमार पौडेल इन्काउन्टर प्रकरमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध जाहेरी दर्ता भएको छ।

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पूर्वगृहमन्त्री बादल र पूर्वआइजिपी खनालविरूद्ध जाहेरी दर्ता गरेको हो।

विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेल प्रहरी इन्काउन्टरमा ५ असार २०७६ मा मारिएका थिए। यही प्रकरणमा तत्कालीन गृहमन्त्री बादल र पूर्वप्रहरी महानिरीक्षक खनाल पनि जोडिएका थिए।

सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार बादर र खनालविरुद्ध जाहेरी दर्ता भएको छ र अब बाँकी अनुसन्धानको प्रक्रिया अघि बढ्छ। ‘अनुसन्धान अनुसार नै प्रतिवादीलाई उपस्थित गराउने पक्राउ पुर्जी जारी गर्नेलगायत कानुन अनुसार अघि बढ्नेछ’ उनले भनेका छन्।

पौडेलका परिवार र विप्लव समूहले कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर मारेको दाबी गर्दै उतिबेलै प्रहरीमा जाहेरी दिन खोजे पनि जाहेरी दर्ता भएको थिएन।

कुमारकी श्रीमती दुर्गादेवीले उजुरी दर्ताको माग गर्दै दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उजुरी दर्ता गरेर अनुसन्धान थाल्न असोज १२ मा आदेश दिएको थियो।

राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन गृहमन्त्री बादल र प्रहरी प्रमुख खनालको दोषी देखाएको थियो।


प्रतिक्रिया दिनुहोस्