ए डिभिजन राष्ट्रिय फुटसल लिगमा स्पोर्टस् क्यासल फाइनलमा

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : ४५


स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब धरानलाई ८–६ को गोल अन्तरले पराजित गर्दै घरेलु टोली क्यासल फाइनल प्रवेश गरेको हो।

खेलमा क्यासलले सुरुआती अग्रता बनाए पनि जितको लागि अन्तिमसम्म कडा सङ्घर्ष गर्नुपरेको थियो।

क्यासललाई जीत दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गर्नुभयो भने सुरज गुरुङ र विजय गुरुङले समान एक–एक गोल गरे। राइजिङका हेमन्त थापामगर, सुदीप गुरुङ र मिलन राईले दुई–दुई गोल गरे। खेलको ‘म्यान अफ दि म्याच’ स्पोर्ट्स क्यासलका किशोर गुरुङ चुनिए। उनले नगद रु पाँच हजार पुरस्कार पाए।

क्यासल लिग तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्लेअफ’मा पुगेको थियो। यस्तै राइजिङले पनि दोस्रो स्थानमा रहँदै ‘प्लेअफ’को यात्रा तय गरेको थियो। यसैगरी आज शङ्खमूल फुटसल क्लब र सविन मेमोरियलबीचको ‘इलिमिनेटर’ खेलमा शङ्खमूल विजयी भएको छ। शङ्खमूलले तीन–दुईको गोल अन्तरले खेल जित्न सफल भयो।


प्रतिक्रिया दिनुहोस्