सर्प संरक्षणमा जुटेका गणेश भन्छन्ः आफूमाथि खतरा महसुस नगरे सर्पले डस्दैन

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : ०१


झापा/ हेलो सर नमस्कार। तपाई गणेश हो? यहाँ हाम्रो सुन पसलमा धामन सर्प बसिरहेको छ। आइदिनुपर्‍यो। उद्धार गरिदिनुपर्‍यो। दिन होस् या रात। झापा उर्लाबारी–३ का २६ वर्षीय गणेश श्रेष्ठ मोटरसाइकल स्टार्ट गरेर बोलाएको ठाउँमा हुईकिन्छन्।

अनि सर्प हातले च्याप समाउँछन्, सुरक्षित स्थलमा लगेर छोडिदिन्छन्। यो उनको दैनिकी हो।

उनलाई सर्प समाइदिन हरेक दिन दुईचारवटा दैनिक फोन आउँछ। सर्प देख्न साथ डराउने प्रायः धेरैजसो डराउँछन्। तर, गणेश भने सजिलै समाउँछन्। कुन सर्प विषालु हुन् जानकारी दिन्छन्। सर्प मार्न हुँदैन भन्दै सुरक्षित स्थानमा छोड्न सुझाउँछन्।

श्रेष्ठले किङ कोब्रादेखि डोडे सर्पलगायत सयौं सर्पहरूको उद्धार गरिसकेका छन्। उनले सामान्य सर्पले टोक्दा पनि आत्तिएर ज्यान जाने गरेका सुनाए। सर्पको पहिचान भए उपचार गर्न सजिलो हुन्छ। अहिले पनि उनी दिनदिनै सर्पको उद्धारमा व्यस्त रहन्छन्। सर्पको संरक्षणमा आकर्षित श्रेष्ठले प्रेम बिष्टमार्फत यो कला सिकेको बताउँछन्।

प्रहरी सेवामा २१ वर्ष बिताएका प्रेमले सर्प उद्धार गरेको भिडियो खिच्न जाने क्रममा आफूले पनि सिकेको बताए। ‘सुरुमा त साह्रै डर लाग्यो, कतिपटक सर्पको डसाई पनि भेटियो’, उनले सुरुवाती दिन सम्झँदै भने, ‘सिप सिकिन्छ भनेर पछि हटिएन। अहिले जस्तोसुकै सर्प उद्धार गर्न सक्छु।’

प्रेम बिष्टसँगै हिड्ने क्रममा गणेश सर्प प्रति आकर्षित भए। विस्तारै सर्पका बारेमा भिडियोहरू हेर्न थाले। सर्पप्रति झन् रुचि बढ्यो।

किङ कोब्रा, हरेउ, मोनो सेलेट कोब्रा जस्ता विषालु सर्पको उद्धार गरिसकेको बताएका उनले कम विषालु धामन, सिंगारे, हेर्दा करेतजस्तै देखिने चिचिन्डेजस्ता सर्प उनले उद्धार गरेको जानकारी दिए। सर्पको उद्धार गर्न उनलाई साथी रमेश भण्डारीले पनि सघाउँछन्। ‘मलाई रमेशले पनि सर्प समात्न सघाउँछन्’, गणेशले सुनाए। यसरी उद्धारमा खटिएका उनले कुनै शुल्क भने लिदैनन्।

‘स्वयंसेवी रूपमा काम गर्ने हो। सर्पको उद्धार कार्य निःशुल्क गर्छु’, उनले भने। मोवाइल पसल सञ्चालन गर्दै आएका गणेशले हालसम्म पाँच सयभन्दा बढी सर्पको उद्धार गरिसकेको बताए। झापाबाहेक अरु जिल्लामा पनि सर्प उद्धारमा जाने गरेका उनले सर्प उद्धार कार्य जोखिमपूर्ण रहेको बताए। कुनै सर्प यति विशालु हुन्छन्, जसको टोकाइबाट मानिसको तुरुन्त मृत्यु हुन्छ। सर्प रेस्क्यु गर्ने मात्र हैन सर्पसँग गर्ने सबै काम, सधै चुनौतीपूर्ण नै हुने उनी बताउँछन्।

सर्पको उद्धार गर्दा उसको बसाइको स्थिति र ठाउँले जोखिमलाई निर्धारण गर्ने उनले बताए। खुला ठाउँमा भए उद्धार गर्न सजिलो हुने अनुभव उनको छ। विषालु सर्पको उद्धार गर्दा जतिखेर पनि जोखिम हुने भएकाले सधैँ सर्तक भएर काम गर्नुपर्ने उनी बताउँछन्।

उनकाअनुसार एकदिनमा नै दुई तीनवटा सर्प रेस्क्युकै लागि फोन आउन थालेका छन्। उद्धार गरेको सर्पलाई उनी मानिसको पनि सुरक्षा हुने र सर्पको पनि सुरक्षा हुने ठाउँमा लगेर छोड्ने गर्छन्। टाढा लगेर छोड्दा सर्प बाँच्ने सम्भावना कम हुन्छ। लगभग एक किलोमिटर आसपासमा छोडिन्छ।

‘धेरै टाढा लैजादा अरु सर्प पहिल्यै हुन्छ, त्यो ठाउँमा त्योसँग लड्नु पर्‍यो। खानेकुरा कता पाइन्छ। पानी कता पाइन्छ नयाँ सर्पलाई थाहा हुँदैन्,’ उनी भन्छन्, ‘त्यही भएर रेस्क्यु गरेको नजिकै सुरक्षित हुने ठाउँमा छोड्ने गरेको छु।’

सर्पको आक्रमणबाट जोगिन कुन सिजनमा सर्प बढी आउँछ भन्ने थाहा पाएर सर्तक हुनुपर्ने उनको तर्क छ। घरको वरिपरि काम गर्नुभन्दा अगाडि राम्रोसँग हेर्ने, घाँस काट्ने ठाउँमा हरेउ हुने भएकाले ख्याल गर्ने, तरकारी टिप्दा, झाडीमा काम गर्दा सर्तक रहनुपर्ने उनी बताउँछन्।

उनकाअनुसार सर्पले देख्ने बितिकै आक्रमण कहिल्यै गर्दैन, जब सर्पले आफूमाथि खतरा महसुस गर्छ अनि मात्र डस्ने गर्छ। सर्पलाई नजिस्काए ऊ सजिलै आफ्नो बाटो लाग्ने उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस्