सेयर बजारमा छायो चमक, ६८ अंकको सुधार भयो

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ४ : ०८


काठमाडौं साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा चमक देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६८१ दशमलव १० मा पुगेको छ।

नेप्से दुई दशमलव ६२ प्रतिशतले बढेको हो। यस्तै, सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अंकले बढेर ५०४ दशमलव ७३ मा पुगेको छ।

बुधबार कूल २२७ वटा कम्पनीको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ५० करोड ६ लाख ५८ हजार एक सय ४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो दिन मंगलबार दुई अर्ब मात्र कारोबार भएकोमा बुधबार बढेको छ। सोमबार तीन अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो।

त्यस्तै, बुधबार सिटिजन्स बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको २३ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार भएका १३ वटै उपसमूह उकालो लागेको छ।

सबैभन्दा धेरै फाइनान्स समूह र लघुवित्त समूह बढेको छ। बुधबार सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैमा लघुवित्त अगाडि छ।

बुधबार १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्ने कम्पनीमा अधिकांश लघुवित्तहरू छन्। बुधबार सेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास, नयाँ सारथीलगायत रहेका छन्।

त्यसैगरी, बुधबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन्।


प्रतिक्रिया दिनुहोस्