कपिलवस्तुमा झाडापखालाका कारण तीन जनाको मृत्यु, सयभन्दा बढी बिरामी

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ५७


कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको छ। जसका कारण त्यहाँ झाडापखालाबाट अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ।

नगरका वडा नं. ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल जानेहरूको संख्या १ सयभन्दा बढी रहेको वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले जानकारी दिए।

झाडापखाला र बान्ता भएर स्थानीय शिवराज अस्पताल बहादुरगन्जमा पुगेका बिरामीको बेड अभाव भएपछि बाहिरै राखेर उपचार गरिएको छ। वडा अध्यक्ष कुर्मीका अनुसार झाडापखालाबाट वडा नं. ९ का ५ वर्षीय राज काश्यप, वडा नं. ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नं. ७ का एक वृद्धको मृत्यु भएको छ।

अहिले एकसय भन्दा बढी बिरामीको बहादुरगञ्जमै उपचार भइरहेको कुर्मीले जानकारी दिए। अस्पतालका चिकित्सक मुकेश चौधरीका अनुसार सिकिस्त भएका ७ जनालाई थप उपचारको लागि अन्यत्र पठाइएको छ।

नगरपालिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी बढी देखिएका छन्। एक सयभन्दा बढी बिरामी अस्पतालमा भर्ना भएको र त्यत्तिकै संख्यामा सामान्य अवस्थाका बिरामी गाउँमा रहेको वडा अध्यक्ष कुर्मीले बताए।

बिरामी बढ्दै जाँदा अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि स्थानीय क्लिनिकमा पनि बिरामीको उपचार भइरहेको नगरपालिकाका प्रमुख रजतप्रताप शाहले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्