आफ्नो भाई र छोरीको नाममा सेयर खरिद गर्ने धितोपत्र बोर्डका अध्यक्ष बर्खास्त

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ३८


सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई मंगलबार बर्खास्त गरेको छ।

सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

कानुनविपरीत आफ्नो सहदोर भाइ र छोरीको नाममा सेयर खरिद गरेको आरोप लागेपछि सरकारले गएको भदौ १७ गते उनलाई पदबाट निलम्बन गरेको थियो।

उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा गठित छानबिन समितिले यही असोज ५ गते अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन बुझाएको थियो।

बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्‍याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो।


प्रतिक्रिया दिनुहोस्