कोरोना खोप कार्यक्रमको सरकारी लक्ष्य पूरा, दशैँलगत्तै १८ वर्षमुनिकालाई लगाइने

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : ००


काठमाडौं लक्षित जनसंख्याको एक तिहाइलाई असोज मसान्तसम्म खोप दिने सरकारको लक्ष्य पूरा भएको छ। एक तिहाइलाई असोजको अन्त्यसम्म पूर्ण खोप दिने लक्ष्य असोज महिनाको मध्यमै पूरा भएको हो।

नेपालमा हालसम्म भित्रिएको एक करोड ७८ लाख ५९ हजार ११० डोजमध्ये खरिद खोप एक करोड १० लाख १० हजार डोज रहेको छ।

बाँकी एक करोड ६८ लाख ५९ हजार ११० डोज खोप अनुदानमा आएको हो। खरिद गरिएको खोपमध्ये ६६ लाख कोभिसिल्ड खोप हो भने ४४ लाख भेरोसेल हो। अनुदान स्वरूप प्राप्त खोपमा सबैभन्दा बढी भेरोसेल खोप रहेको छ।

नेपालमा भित्रिएको खोपमध्ये भेरोसेल खोपको संख्या एक करोड १९ लाख रहेको छ। दोस्रोमा रहेको कोभिसिल्डको संख्या २४ लाख ४८ हजार रहेको छ। प्राप्त एस्ट्राजेनेका खोप १९ लाख ७५ हजार ८६० डोज छ भने जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार ८५० डोज रहेको छ।

१८ असोजसम्म एक करोड ४१ लाख ८९ हजार ८५५ मात्रा खोप लगाइसकिएको छ, जसमा ६३ लाख ८४ हजार १७२ जनाले पूर्ण खोप र ७८ लाख पाँच हजार ६८३ जनाले पहिलो मात्रा लगाएका छन्।

यससँगै लक्षित जनसंख्याको एक तिहाइलाई असोज मसान्तसम्म खोप दिने सरकारको लक्ष्य पूरा भइसकेको छ। एक तिहाइलाई असोजको अन्त्यसम्म पूर्ण खोप दिने लक्ष्य असोज महिनाको मध्यमै पूरा भएको हो।

हाल देशभर १८ वर्षमाथिका ३५ दशमलव ९ प्रतिशतले पहिलो मात्रा र २९ दशमलव ३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। वैशाख मसान्तसम्म खोप लगाउन लक्षित सबै नागरिकलाई पूर्ण खोप दिइसक्ने लक्ष्यका साथ सरकारले तयारी गरिरहेको मन्त्रालयको दाबी छ।

दशैँलगत्तै १८ वर्षमुनिकालई लगाइने
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्षमुनिका बालबालिका तथा किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन्।

कोरोनाविरुद्धको एक करोड डोज खोप आउने सुनिश्चितता भइसकेको भन्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्षभन्दा कम उमेरकालाई दशैँलगत्तै खोप दिइने बताए।

श्रेष्ठका अनुसार सो अभियानका लागि ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खरिदको व्यवस्था गरिसकिएको छ। एक लाख डोज फाइजर खोप अक्टोबरमा आइपुग्नेछ।


प्रतिक्रिया दिनुहोस्