ताइवान चीनको कब्जामा गए एसियाको शान्ति खल्बलिनेछः राष्ट्रपति साइ इंग–वेन

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ४३


चीनले लगातार ताइवानको हवाई रक्षा क्षेत्रमा सयौं लडाकु विमानहरु पठाएपछि ताइवानकी राष्ट्रपति साइ इंग–वेनले मुख खोलेकी छिन्।

उनले चीनको आक्रामक गतिविधिको निन्दा गर्दै ताइवानले चीनसँग सैन्य टकराव नचाहेको उल्लेख गरिन्।

तर चीनले ताइवानमा आक्रमण गरेको खण्डमा भने ताइवानले आफ्नो क्षेत्र जोगाउन अपनाउनु पर्ने जति उपाय सबै अपनाउने उनको भनाइ छ।

गएको चार दिनमा चीनका डेढ सय जति लडाकु विमान ताइवानको हवाई क्षेत्रमा घुसेको बीबीसीले जनाएको छ।

यसबीचमा राष्ट्रपति साइले फरेन अफेयर्स पत्रिकासँग चीनबारे बोलेकी हुन्। उनका अनुसार यदी चीनले ताइवान कब्जा गरेमा त्यो घटनाले पुरै एसियाको शान्ति खल्बलिनेछ। यसले एसियाको शान्ति र लोकतन्त्रमा विनाशकारी परिणाम निम्त्याउनेछ।

हालै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले चीनको विमानहरु ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमामा घुस्नुलाई उत्तेजक र अस्थिर सैन्य गतिविधि भनेका थिए।

‘हामी ताइवानको नजिकै भएको चीनको उत्तेजक सैन्य गतिविधिबाट धेरै चिन्तित छौं,‘अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले एक विज्ञप्तिमा भनेका थिए,‘हामी ताइवान बिरुद्धको चिनियाँ सैन्य, कूटनीतिक, र आर्थिक दबाब रोक्न आग्रह गर्दछौं।’

प्राइसले चिनियाँ गतिविधिले क्षेत्रीय शान्ति र स्थायित्वमा धक्का लाग्ने पनि बताइरहँदा जापानले पनि ताइवान र चीनले विवादलाई कूटनीतिक रुपमा सुल्झाउनुपर्ने बताएको छ।

विवाद
चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्। चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ।

पछिल्लो समय चीनको आक्रामक गतिविधि ताइवानमा थप बढेको देखिएको छ। जसले चीनको ताइवान कब्जा गर्ने दृढता थप मजबुत हुँदै गएको देखाउँछ। तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ।

चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ। चीनले गत वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ। पछिल्लो समय चीनले दोहोर्‍याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।

गतवर्ष ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका थिए। ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।

ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ।

ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्