जसपाको भागमा यी चार मन्त्रालय, मन्त्री टुंगो लगाउने जिम्मा अध्यक्ष यादवलाई

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : २७


काठमाडौं/ सत्ता साझेदार जनता समाजवादी पार्टी जसपा नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ।

मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो। जहाँ जसपालाई चारवटा मन्त्रालय दिइएको हो।

मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको औंपचारिक जानकारी गराए।

यो बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ।

सरकार गठन भएको तीन महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बनेका थिए। गठबन्धन दलबीचमै विवाद उत्पन्न भएको आशंकाबीच मंगलबार मन्त्रालय भागबन्डा लगाउन शीर्ष नेताहरूबीच बैठक बसेको थियो।

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएको थियो।

कांग्रेसले प्रधानमन्त्री, गृह, कानुन, परराष्ट्र, सञ्चार, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने भएको छ।

माओवादी केन्द्रको भागमा अर्थ, ऊर्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय परेको छ। माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ।

उता एकीकृत समाजवादीले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय पाउनेछ।

बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ।


प्रतिक्रिया दिनुहोस्