सीमा क्षेत्रको गोठबाट ८० लाख बराबरको अवैध औषधि बरामद

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ५ : १७


इलाम नेपाल भारतको सीमावर्ती क्षेत्र पशुपतिनगरस्थित लालिखर्कबाट ८० लाख रुपैयाँ मूल्य बराबरको अवैध औषधि फेला परेको छ।

सूर्योदय नगरपालिका–३ मा रहेको गोठमा राखिएको औषधि सशस्त्र प्रहरीले बरामद गरेको हो।अवैध रूपमा भारतीय औषधि नेपाल ल्याइँदै गरेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरीको पशुपतिनगर बिओपीबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो।

४० वटा कार्टुनमा भेटिएको औषधि सशस्त्र प्रहरीले पशुपतिनगरस्थित भन्सार कार्यालयलाई जिम्मा लगाएको छ। अवैध रूपमा औषधि ओसारपसार गर्नेको भने अनुसन्धान भइरहेको जनाइएको छ।

युरिक एसिड, बाथ रोगका बिरामी, ग्याष्ट्रिकलगायतका बिरामीले प्रयोग गर्ने ती औषधि नेपालमा पनि चलन चल्तीमा रहेको बताइएको छ। राजश्व छली गर्ने उद्देश्यले अवैध रूपमा औषधि ल्याइएको प्रहरीको अनुमान छ।

सीमा क्षेत्रबाट चाडबाडको बेलामा लत्ताकपडा, खाद्यान्नलगायतको सामान अवैध रूपमा ओसारपसार हुने गरेको थियो। तर, सीमा क्षेत्रमा औषधि बरामद भएको भने यो पहिलो पटक हो।


प्रतिक्रिया दिनुहोस्